आफ्नै देशका जनतालाई दुःख दिएर जीत हुँदैन : देउवा
भक्तपुर । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले नाकाबन्दीलाई सहयोग पुग्ने गरी मधेसमा भएको आन्दोलनले कसैको भलो नगर्ने बताएका छन् ।
नेपाली काँग्रेस भक्तपुर जिल्ला समितिले बिहीबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले देशभरका आमनागरिकलाई दुःख दिने आन्दोलनबाट मधेस र मधेसी जनताको पनि जित नहुने बताए ।
चित्त नबुझेका कुरा वार्ताको माध्यमबाट समस्या समाधान गरेर निकास खोज्न मधेसवादी दललाई आग्रह गर्दै उनले नाकाबन्दीले देशभरका जनताले औषधिसमेत नपाउने, दैनिक उपभोग्य सामग्रीको अभाव हुने र बालबालिकाको पढ्ने अधिकार समेत खोसिएको बताए ।
भारतले गरेको नाकाबन्दी कुनै हालतमा जायज नभएको बताउँदै पूर्वप्रधानमन्त्री देउवाले भारतलाई आपूर्तिमा सहज गरिदिन आग्रह पनि गरे ।
नेपालले भूकम्पजस्तै नाकाबन्दीको सहजै सामना गर्नसक्ने चर्चा गर्दै उहाँले भारतको नाकाबन्दीले यतिखेर नेपाली जनतामा राष्ट्रिय भावना, संयम र स्वाभिमान जागेको बताए ।
राष्ट्रपति, प्रधानमन्त्रीको निर्वाचनमा भएको हारले काँग्रेसलाई लज्जित बनाएको बताउँदै देउवाले यसबाट पाठ सिकेर काँग्रेस एकताबद्ध र जुझारु भएर अगाडि बढ्नुपर्ने बताए ।
कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य मनमोहन भट्टराई, नेपाली काँग्रेस भक्तपुर जिल्ला समिति सभापति गणेशमान चक्रधरलगायतले देशको समस्या समाधानका लागि काँग्रेसले मध्यस्थता गर्नुपर्ने बताए । रासस
nepalsandesh
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses