हतियारसहित छिरेका भारतीय सुरक्षाकर्मीद्धारा नेपाली महिलाको बलात्कार प्रयास
झापा, १३ मंसिर । हतियारसहित नेपाल प्रवेश गरेका भारतीय सशस्त्र सीमा (एसएसबी)का जवानहरुले नेपाली महिलामाथि बलात्कारको प्रयास गरेको खुलासा भएको छ ।
बलात्कार प्रयास गरेका एसएसबीका १३ जवानलाई नेपाली प्रशासनले कारवाही गर्नको साटो विनाशर्त भारतीय सुरक्षाकर्मीलाई बुझाइएको छ ।
घटना सामान्य भएको भन्दै जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी डम्बरुप्रसाद निरौला, जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी भिमबहादुर दाहाल र सशस्त्र प्रहरीका डिएसपी प्रेम प्रसाईले भारतीय सुरक्षा अधिकारीलाई दशजगामा पुगेर अंकमाल गर्दै बुझाएका हुन् ।
शनिवार मध्य रातमा नेपाल प्रवेश गरेका एसएसबीका १३ जवानले केचनामा रहेको सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्टसँगै जोडिएको घरमा छिरेर बलात्कारको प्रयास गरेको स्थानीयले जानकारी दिएका छन् । लाल मियाँको घरमा पसेर एसएसबीका जवानले उनीकी श्रीमतीलाई लछार–पछार गर्दै श्रीमानमाथि कुटपिट समेत गरेको पीडितको भनाई छ । सशस्त्र प्रहरी बलसँग टाँसिएको घरमा आएर एसएसबीका जवानले दुव्र्यवहार गर्नु सशस्त्र प्रहरीको कमजोरी भएको स्थानीयवासीले अरोप लगाएका छन् ।

पक्राउ परेका एसएसबीका जवानसँग सोधपुछ गरिदै
लामो समयदेखि सीमा क्षेत्रमा नेपालीमाथि दुव्र्यवहार गरिरहेको एसएसबीले सीमादेखि डेढ किलोमिटरभित्र नेपाली भूभागमा छिरेर यस्तो हर्कत गर्नु सामान्य नभएको स्थानीय नेता खड्ग लिम्बूले बताएका छन् । उनले स्थानीय सुरक्षाकर्मीको लापरवाही गरे गर्दा एसएसवीको मनोवल बढेको अरोप लगाएका छन् । तीन दिनअघि भएको सुपारी काण्डले सिर्जना गरेको अवस्था शान्त हुन नपाउँदै एसएसबीले हतियारसहित नेपाल प्रवेश गर्दा स्थानीय त्रसित बनेका छन् ।
हतियारसहित नेपाल प्रवेश गरेर बलात्कार प्रयास गर्ने, कुटपिट गर्ने एसएसवीलाई बिना कारवाही भारत फिर्ता गर्दा यस्तो घटना फेरि दोहोरिन सक्ने भन्दै स्थानीयले सुरक्षाको मजबुत व्यवस्था गर्न माग गरेका छन् ।
राति १२ बजे नै एसएसबीका जवानहरु नकाव लगाएर नेपाली भूमिमा छिरेका थिए । स्थानीय भन्छन्– ‘सधैं बाँसघारीमा लुकेर बस्छन् । समय पायक हुँदा नेपालीको घरमा पुगेर खान तलासी गर्ने, हप्कीधप्की गर्छन् ।’ मध्यरातमा नेपाल प्रवेश गरेका एसएसबीका जवानले मियाँको घरमा बलात्कार प्रयास गरेपछि होहल्ला भएको थियो । होहल्ला हुनासाथ स्थानीयबासी र सशस्त्र प्रहरीले एसएसबीका जवानलाई नियन्त्रणमा लिन सफल भए । आइतबार बिहान ६ बजे उनीहरुलाई नियन्त्रणमा लिइएको बताइएको छ । नियन्त्रणमा लिइएका जवानलाई नेपाल–भारतका सुरक्षा निकायका उच्च अधिकारसँग छलफल गरेर सात घण्टापछि दशगजा पुगेर जिम्मा लगाइयो । किसनगञ्ज एसएसबीका सहायक कमाण्डर डिबी नेगीले १३ जवानलाई बुझेका छन् । उनले जवानलाई सुरक्षित जिम्मा लगाएकोमा धन्यवाद दिँदै नेपालका अधिकारीहरुलाई फर्काइ दिएका थिए ।
स्थानीय नागरिकले अनुसन्धान गरी कारवाही गर्न माग गर्दा–गर्दै उनीहरुलाई भिआइपी स्कटिङसहित दशगजा पुर्याइएको थियो । पक्राउ पर्नासाथ स्थानीयले सशस्त्र प्रहरी बल अगाडि नारावाजी समेत गरेका थिए । उनीहरुले एसएसबीको दमन बन्द गर्न माग गर्दै नारावाजी गरे । नाकाबाट तेल तस्करी गरेर ल्याउनेलाई लखेट्दै नेपाल प्रवेश गरेको बताइए पनि स्थानीयले सो कुरा झुटो भएको बताए । प्रशासनले एसएसबीको बचाउ गर्न तेल तस्करीलाई लखेट्दै आएको बताएको थियो ।
प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले भारतीय सुरक्षा अधिकारीले घटना नदोहोरिने बताएपछि उनीहरुलाई बुझाइदिएको बताएका छन् । उनले दुई देशबीचको सम्बन्ध सुधार गर्न समेत सामान्य प्रक्रियाबाट फिर्ता पठाइएको बताए । उनले भने – ‘सीमा सुरक्षा समस्या छ सहकार्य गरेर सुरक्षा व्यवस्था मिलाउँछौं ।’
जिल्ला प्रशासन कार्यालयले १३ जना एसएसबीको नाम समेत उपलब्ध गराएन । एक हप्ताअघि केचना-५का कृष्णप्रसाद यादवको घरमा आएर एसएसबीका जवानले श्रीमती र छोरालाई कुटपिट गरेर भागेका थिए । उनीहरुले यादवको भाईको ट्याक्टरमा रहेको तेलसमेत झिकेर लगेका थिए । यादवले एसएसबीको दमन सहन नसक्ने बताउँदै सुरक्षा व्यवस्था कडा बनाउन माग गरेका छन् । नेपालीले भारत प्रवेश गर्दा सीमामा काँधमा साइकल बोकेर हिँड्नुपर्ने टिका तिम्सिना बताउँछन् । एसएसबीले दिइरहेको दुःख नेपाली सुरक्षाकर्मीले नदेखेपछि झापा दक्षिणी भेगका नागरिक कष्टपूर्ण जीवन बिताउन बाध्य छन् । स्थानीयवासीका अनुसार मित्तलको चिया बगानसम्म आएर एसएसबीले चेकजाँच गर्ने गरेका छन् । धेरैले सीमामा सशस्त्र प्रहरी र नेपाल प्रहरीले सुरक्षा दिन नसकेको अरोप लगाएका छन् । उनीहरुले सीमानामा नेपाली सेना राख्न माग गरेका छन् ।
सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट केचनाका इञ्चार्ज प्रहरी निरीक्षक भिमलाल चौधरीको लापरवाहीले दक्षिणी भेगमा सुरक्षा कमजोर भएको बताइएको छ । बेलाबेला एसएसबीका जवान तीन किलोमिटर भित्रसम्म प्रवेश गरेर फर्किदा समेत कुनै ‘एक्सन’ नलिएको बुझिएको छ । घटनास्थल पुगेका सञ्चारकर्मीलाई नजिकै रहेको सशस्त्र प्रहरी बल प्रवेश गर्न समेत रोक लगाइएको थियो ।
– स्थलगत रिपोर्ट
dainiknepal
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses