नेपालले अन्य मुलुकबाट इन्धन ल्याउन लागेकोमा भारत रुष्ट
काठमाडौं: भारतले चीन र बंगलादेशबाट नेपालमा इन्धन ल्याउन जारी राखेको प्रयासप्रति असन्तुष्टि जनाएको छ।

'चीन र बंगलादेशबाट नेपालले इन्धन ल्याउन लागेको छ नि?' भन्ने सञ्चारकर्मीको प्रश्नमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरूपले नेपालले अन्य मुलुकबाट इन्धन ल्याउनुभन्दा मधेसमा जारी आन्दोलन हल गर्नेतिर जोड दिँदा उपयुक्त हुने भन्दै घुमाउरो भाषामा असन्तुष्टि जनाएका हुन्।

आफूअनुकूल नेपालमा संविधान जारी नभएकोमा आक्रोशित भारतले दुई महिनादेखि नेपालमाथि नाकाबन्दी लादेपछि सरकारले यतिबेला छिमेकी चीनसँग व्यावसायिक इन्धन सम्झौता गर्न लागेको छ। तीन साताअघि चीन र नेपालबीच नेपालमा व्यावसायिक इन्धन ल्याउनेबारे 'फ्रेमवर्क समझदारी' पत्रमा हस्ताक्षर भएको थियो।

त्यस्तै बंगलादेशबाट इन्धन भित्र्याउनेबारेमा समेत कूटनीतिक तहमा कुराकानी अघि बढाइएको छ। भारतीय नाकाबन्दी नहट्ने बुझेपछि सरकारले चीनसँग व्यावसायिक सम्झौताका लागि कुराकानी अघि बढाएको हो।

बिहीबार नयाँदिल्लीमा आयोजित पत्रकारसम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ताले भारतले नेपालमाथि नाकाबन्दी नलगाएको दाबी पनि गरे। उनले नेपालको मधेस आन्दोलन अन्त्य भए भारतीय भूमिमा रोकिएका नेपाली ट्यांकर र ट्रक सहज रूपमा नेपाल भित्रिने पुरानै कुरा दोहोर्‍याए।

भारतीय आयल निगमको रक्सौलस्थित डिपोमा इन्धन भर्न गएका नेपाली ट्यांकर इन्धन भर्न नपाउँदा डेढ महिनादेखि भारतीय भूमिमै अड्किएका छन्। भारतीको केन्द्रीय सरकारले भन्सार नाकामा थप कडाइ गर्न सीमा सुरक्षा बललाई निर्देशन दिएका कारण ती ट्रकहरू सीमापारि नै रोकिएका हुन्।

त्यस्तै इन्डियन आयल कर्पोरेसनलाई नेपालका लागि इन्धन उपलब्ध नगराउन भारतको केन्द्रीय सरकारले पुनः निर्देशन जारी गरेको नयाँदिल्लीस्थित नेपाली दूतावासका अधिकारीहरू बताउँछन्।तर भारतीय विदेश मन्त्रालयका प्रवक्ताले केही सीमानाकाबाट दैनिक ६ सय ट्रक सामान र इन्धनसहित नेपाल भित्रिरहेको दाबी गरे।

वीरगन्जबाहेक अन्य सीमानाकाबाट मालवाहक ट्रक नेपालतिर प्रवेश गरिरहेको स्वरूपले बताए।पत्रकारको प्रश्नमा स्वरूपले नेपालमा औषधि र अत्यावश्यक वस्तुको अभाव देखिएकोबारे भारत जानकार रहेको भन्दै वीरगन्जबाहेक अन्य नाकाबाट अथवा विमानबाट नेपाल पठाउन सकिने बताए। मधेसीको माग पूरा गर्न भारतले निरन्तर नेपालमाथि दबाब दिँदै आएको छ।
annapurnapost
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses