कसैले साथ नदिएपछि बाबुरामको ‘विचल्ली’ !
‘भीरबाट हाम फाल्न लागेको गाईलाई राम–राम भन्न सकिन्छ, काँध थाप्न सकिंदैन’ भन्ने उखान नेपाली राजनीतिमा फेरि एकपटक चरितार्थ भएको छ । त्यो पनि ‘नयाँ शक्ति’को नाममा राजनीतिक धन्दा चलाएका डा. बाबुराम भट्टराईको हकमा यो बढी सान्दर्भिक देखिन पुगेको छ । नयाँ शक्तिको नाममा बहकावी धन्दा चलाएपछि हुरहुर मान्छे आउँछन् र आफू शक्तिमा विराजमान हुन र एमाओवादीलाई साइजमा ल्याउन सक्छु भन्दै अगाडि सरेका डा. भट्टराईलाई एमाओवादीमै रहेकाले समेत राम्ररी साथ नदिएपछि फेसबुकमार्फत रोइलो गर्न थालेका छन् । उनले मंसिर १ गते फेसबुक मार्फत नयाँ शक्तिको लोगो, नारा र बेवसाइटको नाम समेत माग गरेका छन् ।
डा. भट्टराईको पछिल्लो गतिविधिले भारतलाई नै सघाएको र भारतको योजनामा नै उनी चलेको भन्ने पुष्टि भएपछि उनको घरभित्रै र बाहिर समेत चर्को आलोचना भएको छ । पछिल्लो पटक भारतीय टेलिभिजन च्यानल सीएनएन आइबीएनलाई उनले दिएको अन्तरवार्तामा आफू भारतीय भएको प्रष्ट पारेका थिए । उनले नेपालमा चीनले केही पनि गर्न नसक्ने भन्दै भारतको साथ र सहयोग चाहिने भन्दै भारतको नै गुनगान गरेका थिए । भारतीय योजनामा एमाओवादीबाट बाहिरिएको र नयाँ शक्तिको नाममा एमाओवादीको प्रभाव कम गर्ने योजनामा रहेको भन्दै चर्को आलोचना व्यहोरेका डा. भट्टराईकै गतिविधि हेर्दा पनि त्यस्तै देखिंदै आएको छ । पछिल्लो दिनमा मुलुकका विभिन्न जिल्लामा नयाँ शक्तिको प्रचार गर्ने भन्दै निस्के पनि कुनै सकारात्मक परिणाम नदेखिएको भन्दै दुःखेसो व्यक्त गर्ने जमात बढ्दै गएको छ ।
त्यसो त आफ्नै भनिनेहरूमा समेत मेल छैन, देवेन्द्र पौडेललाई कोही कसैले मन पराउँदैनन् । नवराज सुवेदी र लिलबहादुर थापाको बीचमा मिल्ती छैन । उनीहरू एकले अर्कोलाई सिध्याउन लागिपरेका छन् । मधेशमा साथ दिने भनिएकाहरूमा पनि एकआपसमै मारामार रहेको छ । रामचन्द्र झालाई अवसरवादी र भारतीय नागरिकता भएको भन्दै कोही स्वीकार गर्ने पक्षमा रहेका छैनन् । गंगानारायण श्रेष्ठ सिन्धुलीमा नै कोही कसैले स्वीकार गर्ने पक्षमा छैनन् । पूर्वाञ्चलमा उनको पक्षमा कोही पनि रहेका छैनन् । राजधानी आसपासमा उनको पक्षमा कोही छैनन् । काठमाडौं उपत्यकामा डा. भट्टराईको नयाँ शक्तिमा लाग्ने कोही छैनन् र जाने पक्षमा पनि कोही छैनन् ।
पूर्व प्रशासकहरू पनि उनलाई साथ दिने पक्षमा छैनन् । भारतीय राजदूतसँगको अघोषित साँठगाँठ र नेपालमाथि लगाइएको नाकाबन्दीलाई समर्थन गरेको भन्दै उनकै पक्षमा लागेका समेत पुरानै घरमा फर्कने तयारी गरेपछि डा. भट्टराईलाई लौ डाक्टर अब हुने भएन प्रचण्डसँग एकपटक मिल्न प¥यो भन्दै अर्ती दिने गरेको सानेपा स्रोतले जनाएको छ । आफ्ना स्वकीय सचिव विश्वदीप पाण्डेका पीता समेत रहेका एमाओवादी सांसद भक्तिप्रसाद पाण्डेलाई समेत भेट्न नगएको भन्दै आलोचना भएको छ । सोही कारण विश्वदीपले समेत बाबुरामलाई साथ छाड्ने तयारी गरेका छन् । अन्तिममा बाबुरामको नयाँ शक्तिमा उनी एक्लै हुने देखिएको छ । एमाओवादी छाडेका समेत पुनः पुरानै घर फर्केर आत्मालोचना गर्ने तयारीमा रहेका छन् । जनआह्वान साप्ताहिकमा खबर छ ।
dainiknepal
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses