सिंहदरवार छाडेर सवै मन्त्रीलाई मधेस जान प्रधानमन्त्री ओलीको निर्देशन
काठमाडौं, १३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले सवै मन्त्रीलाई आन्दोलनरत क्षेत्रमा पठाउने तयारी गरेका छन् । ‘जनताको संविधान जनताको माझ’ कार्यक्रम बनाएर सवै मन्त्रीलाई आन्दोलनरत क्षेत्रमा जान प्रधानमन्त्री ओलीले निर्देशन दिइसकेका छन् ।
प्रमुख राजनीतिक दलका शिर्ष नेताहरुसँगको अनौपचारिक छलफलपछि प्रधानमन्त्री ओलीले सवै मन्त्रीलाई जिल्ला पठाउने निर्णयमा पुगेका हुन् । मन्त्रीहरुसँग सत्तारुढ दल र प्रमुख प्रतिपक्ष दलका सांसदहरु पनि जिल्ला जाने कार्यक्रम तय गरिएको छ ।
‘जनताको संविधान जनता माँझ कार्यक्रम प्रधानमन्त्रीज्यूले बनाउनु भएको छ’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले भने ‘को मन्त्री कुन जिल्ला जाने अहिले तय भएको छैन तर अब छिट्ट निर्णय होला ।’ कुन जिल्लामा कुन मन्त्री जाने बिषयमा मन्त्रीहरुबीच अहिले छलफल चलिरहेको छ ।
मधेस केन्द्रीत केही राजनीतिक दलले संविधानमा भ्रम छरेपछि त्यसलाई चिर्न पनि मन्त्री र सांसदहरु जिल्ला जाने भएका छन् । मधेसी मोर्चाको आन्दोलनलाई लक्षित गरी प्रधानमन्त्री ओलीले ‘जनता बुझाउने’ अभियान ल्याएका हुन् । केही दिनअघि बसेको मन्त्रीपरिषदको बैठकले पनि जनता माँझ जाने निर्णय गरिसकेको छ ।
प्रधानमन्त्री ओलीको यस अभियानलाई प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पनि साथ दिने भएको छ । हिमालदेखि तराईसम्मका सबै सांसदहरुलाई प्रधानमन्त्रीको अभियानमा सहयोग गर्न कांग्रेस सभापति सुशील कोइरालाले निर्देशन दिने तयारी पनि गरेका छन् ।yeskathmandu
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses